भारत–पाकिस्तान सैन्य शक्ति तुलना : कसको सेना कति ?

काठमाडौं  – भारतले पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेपछि दुई छिमेकी देशबीचको तनाव चुलिएको छ। यो सैन्य भिडन्तसँगै दुबै देशको सैन्य क्षमताबारे बहस फेरि चुलिएको छ। ग्लोबल फायर पावर इन्डेक्स २०२५ का अनुसार, विश्व सैन्य शक्तिको वरीयतामा भारत चौथो स्थानमा छ भने पाकिस्तान १२औँ स्थानमा।

भारतीय सेनाको सामरिक शक्ति

भारतीय सेनामा लगभग २२ लाख सक्रिय सैनिकहरू छन्। थलसेनामा ४,२०१ ट्याङ्क, १.५ लाख बख्तरबन्द सवारी, १०० सेल्फ-प्रोपेल्ड आर्टिलरी, ३,९७५ टाउड आर्टिलरी र २६४ मल्टी-ब्यारल रकेट सिष्टम छन्।

भारतीय वायुसेनासँग ३ लाख १० हजार सैनिक र २,२२९ विमान छन्। तीमध्ये ५१३ लडाकु, २७० ट्रान्सपोर्ट, १३० हमलाकारी, ३५१ प्रशिक्षण र ६ ट्याङ्कर विमानहरू छन्। साथै, भारतीय सेनासँग ८९९ हेलिकप्टर छन्, जसमध्ये ८० वटा हमलाकारी हुन्। भारतीय नौसेनामा १.४२ लाख नौसैनिक, २ विमानवाहक युद्धपोत, १३ डिस्ट्रोअर, १४ फ्रिगेट, १८ पनडुब्बी, १८ कर्भेटसहित कुल २९३ जहाज छन्। भारतसँग ३११ विमानस्थल, ५६ बन्दरगाह, ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे सञ्जाल छ।

पाकिस्तानी सेनाको अवस्था

पाकिस्तानी सेनामा १३.११ लाख सैनिक, १.२४ लाख नौसैनिक र ७८ हजार वायुसेना रहेका छन्। थलसेनामा २,६२७ ट्याङ्क, ६६२ सेल्फ-प्रोपेल्ड आर्टिलरी, २६२९ टाउड आर्टिलरी र ६०० मल्टी-ब्यारल रकेट सिस्टम छन्।

पाकिस्तानी वायुसेनासँग १,३९९ विमान छन्, जसमा ३२८ लडाकु, ९० हमलाकारी, ६४ ट्रान्सपोर्ट, ५६५ प्रशिक्षण, ५७ लडाकु हेलिकप्टर र ४ ट्याङ्कर विमान समावेश छन्। नौसेनातर्फ, पाकिस्तानसँग ९ फ्रिगेट, ९ कर्भेट, ८ पनडुब्बी र ६९ गस्ती जहाज छन्। त्यसबाहेक, पाकिस्तानसँग ११६ विमानस्थल, ३ बन्दरगाह, ६० व्यापारिक समुद्री जहाज, २.६४ लाख किलोमिटर सडक र ११.९ हजार किलोमिटर रेलवे सञ्जाल छ।

भारत सैन्य शक्ति र भौतिक पूर्वाधारमा पाकिस्तानभन्दा अग्रस्थानमा देखिन्छ। तर पाकिस्तानको पनि व्यापक क्षमताले युद्धको अवस्था उत्पन्न भएमा प्रतिरक्षात्मक क्षमता कमजोर नरहेको देखिन्छ। बीबीसीका अनुसार, हालको तनावले यदि थप उचाइ लिने हो भने दक्षिण एशिया मात्र नभई विश्वको सामरिक सन्तुलनमै असर पर्न सक्ने देखिन्छ।
अन्तर्राष्ट्रिय समुदायको चासो पनि बढ्दो छ, र दुवै मुलुकलाई संयमित र संवादमार्फत समस्या समाधान गर्न सुझाव दिइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्