काठमाडौं – भारतद्वारा पाकिस्तानमाथि गरिएको मिसाइल आक्रमण ‘अपरेशन सिन्दूर’लाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा विशेष निगरानी गरेका छन् । समाचार संस्था एएनआईका अनुसार, प्रधानमन्त्री मोदीले रातभर अपरेशनको अपडेट लिँदै नौवटै लक्षित ठेगानामा आक्रमण सफल भएको प्रतिक्रिया दिएका छन् ।
भारतीय सेनाका अनुसार, जैश–ए–मोहम्मद र लश्कर–ए–तोयबा जस्ता संगठनका शीर्ष नेताहरू बसेका स्थानलाई लक्ष्य गरेर यो कारबाही गरिएको हो । सेनाले आतंकवादी गतिविधिमा संलग्न क्षेत्र पहिचान गरी ती ठेगाना चुनेको जानकारी दिएको छ ।
हवाई उडान अस्तव्यस्त
यस सैन्य कारबाहीको प्रत्यक्ष असर नागरिक उडानमा परेको छ । इन्डिगो एयरलाइन्सका अनुसार, उत्तरी भारतको हवाई क्षेत्रमा आएको सुरक्षा परिवर्तनका कारण श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बीकानेरबाट आउने-जाने सबै उडान ढिलो भएको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था गर्न एयरलाइन्सहरूले आन्तरिक समन्वय गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय जानकारी
भारतको विदेश मन्त्रालयले यो अपरेशनको पूर्वजानकारी अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रुसलाई दिइएको पुष्टि गरेको छ । भारतले अन्तर्राष्ट्रिय समुदायलाई आक्रमणको कारण, उद्देश्य र लक्ष्यबारे जानकारी गराउँदै आतंकवाद विरुद्धको साझा प्रतिबद्धता दोहोर्याएको छ ।
‘अपरेशन सिन्दूर’ नरेन्द्र मोदी सरकारको आतंकवादविरुद्धको कडा र तत्कालिक कारबाहीको संकेत हो । आन्तरिक सुरक्षा मात्र नभई अन्तर्राष्ट्रिय समन्वयमा समेत भारत सक्रिय देखिएको छ । यता पाकिस्तानले घटनाबारे गम्भीर आपत्ति जनाउँदै जवाफी प्रतिक्रिया दिइरहेको छ, जसले दुई देशबीचको तनावलाई अझ चर्काउने संकेत देखिएको छ ।