काठमाडौं – जम्मु-कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि भारत–पाकिस्तानबीचको तनाव चरममा पुगेको छ । सो आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रणमा रहेको कश्मीरका आतंकवादी ठिकानाहरूमा मिसाइल आक्रमण गरेको छ । भारतीय सेनाले यस कारबाहीलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।
भारतीय सेनाको वक्तव्य अनुसार, मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा लक्षित गरी एयरस्ट्राइक गरिएको हो । भारतीय सञ्चारमाध्यम द भाष्कर का अनुसार, आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
भारतको भनाइअनुसार, यी क्षेत्रहरू आतंकवादी आक्रमणको योजना बनाउने तथा कार्यान्वयन गर्ने अड्डाहरू थिए । सेनाले एक्स अकाउन्टमा लेखेको छ, “पाकिस्तानले युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै भारतमाथि घातक हमलाहरू गरिरहेको छ, जसको उचित जवाफ दिइँदैछ ।”
पाकिस्तानको प्रतिकार
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतीय आक्रमणको कडा शब्दमा विरोध जनाउँदै यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् । उनले एक्समा लेखेका छन्, “भारतले पाँच स्थानमा कायरतापूर्वक आक्रमण गरेको छ । सम्पूर्ण पाकिस्तान जनताले सेनाको साथ दिइरहेका छन् ।”
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी संरचना नभइ सर्वसाधारण नागरिकको बस्तीलाई निशाना बनाएको आरोप लगाएका छन् । उनका अनुसार, आक्रमणमा एक महिला र एक बालकको मृत्यु भएको छ र मस्जिदहरू समेत क्षतिग्रस्त भएका छन् । उनले अन्तर्राष्ट्रिय मिडियालाई घटनास्थल भ्रमण गर्न समेत आग्रह गरेका छन् ।
प्रत्यक्षदर्शीको बयान
मुजफ्फराबादका स्थानीय बासिन्दा शहनवाजले रातको समयमा एकाएक विस्फोट हुँदा घरका सबै सदस्यहरू त्रसित बनेर बाहिर निस्किएको बताए । अर्का प्रत्यक्षदर्शी मोहम्मद वहीदले भने, “मस्जिद नजिकै मिसाइल खसेर सिंगो क्षेत्र आतंकित भएको छ । दर्जनौं घाइते छन् ।”
अन्तर्राष्ट्रिय प्रतिक्रिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको कारबाहीलाई “लाजमर्दो” भन्दै युद्ध चाँडै अन्त्य होस् भन्ने कामना गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । महासचिवको भनाइ छ, “संसारले भारत–पाकिस्तानबीच अर्को युद्धको जोखिम लिन सक्दैन ।”
भारतको ‘अपरेशन सिन्दूर’ पछि भारत–पाकिस्तानबीचको तनाव उच्च विन्दुमा पुगेको छ । दुबै पक्षले आ–आफ्नो दाबी गर्दै एकअर्कालाई दोष दिइरहेका छन् । यस घटनाले दक्षिण एशियाली क्षेत्रमा अस्थिरता बढाउने चिन्ता थपिएको छ ।