रेशम चौधरीको पक्राउबारे गृहमन्त्री संसद्मा जानकारी दिने

काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको हालैको पक्राउबारे गृहमन्त्री रमेश लेखकले संसद्मा औपचारिक जानकारी दिने भएका छन्। मंगलबारको प्रतिनिधि सभाको बैठकमा नाउपाका सांसदहरूले चौधरीको पक्राउप्रति आपत्ति जनाउँदै सरकारको जवाफ माग गरेका थिए।

सांसदहरूले सभामुख देवराज घिमिरेसमक्ष रुलिङ माग गर्दै संसद्को कारवाही अवरुद्ध गर्न खोजेका थिए। त्यसक्रममा सभामुख घिमिरेले गृहमन्त्री लेखक आगामी बिहीबार संसद्मा उपस्थित भई चौधरीको पक्राउबारे जानकारी दिने स्पष्ट पारे।

वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणको घोषणा गर्न प्रज्ञा भवन पुगेका बेला रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउको आधार सर्वोच्च अदालतबाट जारी भएको भनिएको पुर्जी रहेको बताइएको थियो। तर पछि उक्त पुर्जी फर्जी भएको पुष्टि भएपछि चौधरीलाई रिहा गरिएको थियो।

पक्राउको क्रममा चौधरीले डिल्लीबजार कारागारमा करिब पाँच घण्टा बिताएका थिए। यस घटनापछि नाउपाका नेता तथा कार्यकर्ताहरूले प्रहरी प्रशासनमाथि राजनीतिक पूर्वाग्रहले प्रेरित भई कदम चालेको आरोप लगाएका छन्। यस विषयमा संसद्को ध्यानाकर्षण भएको र गृहमन्त्रीले औपचारिक जवाफ दिने तयारीसँगै घटना राजनीतिक रूपले थप संवेदनशील बनेको देखिन्छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्