काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको विवादका कारण लामो समयदेखि रोकिएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा नयाँ संकेत देखिएको छ। यसै सन्दर्भमा अर्थमन्त्री बिष्णु पौडेल आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन्।
यद्यपि अर्थमन्त्रीको सचिवालयले भेटवार्ता राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी नभई आगामी आर्थिक वर्षको बजेट निर्माणबारे परामर्शका लागि भएको दाबी गरेको छ। भेटमा देउवाले देशको आर्थिक अवस्था जटिल रहेको भन्दै मितव्ययी नीति अपनाउन र स्रोतको अधिकतम् सदुपयोग हुने गरी बजेट बनाउने सुझाव दिएका छन्।
तर, राजनीतिक वृत्तमा यो भेटलाई गभर्नर नियुक्तिको सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ। अर्थमन्त्री पौडेल आफैं गभर्नर सिफारिस समितिका संयोजक समेत हुन्। गभर्नर नियुक्तिबारे सत्तारुढ दलभित्र फरक–फरक अडान देखिएको छ। कांग्रेसले हालका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने प्रस्ताव राखेको छ भने एमालेले डेपुटी गभर्नर नीलम ढुंगानाको नाम अघि सारेको छ।
सरकार र अर्थ मन्त्रालयको नेतृत्व आफूसँग भएकाले गभर्नर पद पनि एमालेले पाउनु स्वाभाविक भएको एमालेको तर्क छ । तर पछिल्लो पटक एमालेबाट गभर्नर नियुक्त भइसकेको हुनाले अब कांग्रेसले पाउनुपर्ने कांग्रेसको अडान छ । पछिल्लो भेटवार्ताले सहमतिको बाटो खोल्ने संकेत देखिए पनि गभर्नर नियुक्तिमा अन्तिम निर्णय कहिले हुन्छ भन्ने अझै स्पष्ट छैन।