सुदूरपश्चिममा माओवादी विवाद चुलियो : प्रचण्डले प्रदेशसभा सदस्यहरूलाई काठमाडौं बोलाए

धनगढी – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेशमा उत्पन्न संसदीय दलको नेताविवाद समाधान गर्न प्रदेशसभा सदस्यहरूलाई काठमाडौं बोलाएका छन्।

माओवादी केन्द्रभित्र सुदूरपश्चिम प्रदेशमा दलको नेताका विषयमा लामो समयदेखि चलेको विवाद सहमतिको प्रयासबाट समाधान गर्न निर्देशन दिँदै आएका अध्यक्ष प्रचण्डले कार्यान्वयन नभएपछि अब सदस्यहरूलाई प्रत्यक्ष छलफलका लागि खुमलटार बोलाएका हुन्।

२४ वैशाख बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्ने तय भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालयले सबै प्रदेशसभा सदस्यहरूलाई म्यासेज पठाउँदै बैठकमा अनिवार्य उपस्थिति जनाउन भनेको छ।

२०८० साल माघ १२ गते खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाइएको थियो। तर अध्यक्ष प्रचण्डले भट्टलाई पुनर्बहाली गर्न पटक–पटक निर्देशन दिँदै आए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।

धामी पक्षले भने भट्टको पक्षमा बहुमत नपुगेसम्म नेतृत्व नछोड्ने अडान लिएको छ। सुरुमा सभामुख बाहेक १० जना सांसदमध्ये ६ जनाको समर्थनसहित धामी नेता बनेका थिए। तर पछिल्लो समय सांसद शिव ओली भट्टको पक्षमा लागेपछि दुवै पक्ष ५–५ सांसदमा पुगेका छन्।

भट्ट पक्षमा रहेका सांसदहरू:
– शिव ओली
– झपट साउद
– रमेश धामी
– जानकी पौडेल कुवर
– खगराज भट्ट

धामी पक्षमा रहेका सांसदहरू:
– अक्कल बहादुर रावल
– ओमविक्रम भाट सरल
– लक्ष्मी विक
– गीता माल
– मानबहादुर धामी

अब खुमलटारमा बस्ने बैठकबाट माओवादी नेतृत्वले सुदूरपश्चिमको विवाद समाधानको लागि के निर्णय लिन्छ भन्नेबारे चासो बढेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्