काठमाडौं – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत अवस्थामा फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको घटनाप्रति प्रतिनिधिसभामा गम्भीर ध्यानाकर्षण भएको छ। सो घटनालाई लिएर सभामुख देवराज घिमिरेले सोमबार संसद बैठकमा सरकारलाई भारतसँग उच्च तहको कुटनीतिक संवाद अघि बढाउन निर्देशन दिएका छन्।
सांसदहरूले आकस्मिक समयमा उठाएको विषयमा प्रतिक्रिया दिँदै सभामुख घिमिरेले विदेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरूको रहस्यमय मृत्यु गम्भीर राष्ट्रिय सरोकारको विषय भएको उल्लेख गरे। “उज्यालो भविष्यको सपना बोकेर विदेश गएका विद्यार्थीहरूको एकपछि अर्को मृत्यु राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न हो,” सभामुखले भने।
प्रिसा साह झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाबारे सत्यतथ्य पत्ता लगाउन र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सभामुख घिमिरेले सरकारलाई भारतसँग कूटनीतिक तहमा संवाद गर्न निर्देशन दिएका हुन्। साथै, उनले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि दीर्घकालीन नीतिगत पहल अवलम्बन गर्न पनि अपिल गरे।
यस घटनाले फेरि एकपटक विदेशमा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षाको सवाल उठाएको छ। सभामुखको निर्देशनपछि सरकार अब कस्तो कदम चाल्छ भन्ने विषयमा आम नेपाली चासो व्यक्त गरिरहेका छन्।