दुर्गा प्रसाईंको उपचारका लागि अदालतले दियो आदेश, हिरासत पाँच दिन थप

 

काठमाडौं — मेडिकल व्यवसायी तथा राजसंस्था पुनःस्थापनाको संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंको स्वास्थ्य उपचारको लागि उचित प्रबन्ध गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आइतबारको सुनुवाइपछि प्रसाईंसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो। इजलासमा प्रस्तुत गर्दा प्रसाईंले आफू क्यान्सरको बिरामी भएको जनाउँदै उपचारको माग गरेका थिए। यसअघि पनि उनले अदालत समक्ष साधारण तारेख वा हाजिर जमानीमा रिहा गराउन निवेदन दिएका थिए।

अदालतले आदेशमा भनेको छ, “प्रसाईंको स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्नू।” तर उनलाई साधारण तारेख वा हाजिर जमानीमा रिहा गर्न नमिल्ने पनि आदेशमा स्पष्ट उल्लेख गरिएको छ।

अदालतले सो आदेश दिँदै थप अनुसन्धानका लागि प्रसाईंसहित अन्यलाई हिरासतमा राख्न अनुमति दिएको छ। आदेशमा भनिएको छ, “प्रतिवादी (प्रसाईं) को ज्यानसम्बन्धी कसुर मुद्दामा बयान गराउने कार्य बाँकी रहेको देखिएकोले निवेदनअनुसार साधारण तारेख वा हाजिर जमानीमा छाड्न मिलेन।”

प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा राजसंस्था पुनःस्थापनाको मागसहित आयोजित प्रदर्शनमा हिंसा भड्काएको आरोप लागेको छ। उनलाई राज्यविरुद्धको कसुर, संगठित अपराध, ज्यान मार्ने उद्योगलगायत गम्भीर अभियोगमा अनुसन्धान भइरहेको छ।

चैत १५ को घटनापछि फरार रहेका प्रसाईं भारतको असम पुगेर लुकेका थिए। त्यहाँबाट पक्राउ गरी चैत २९ गते नेपाल ल्याइएको हो। प्रहरीसँगै उनका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्