माओवादी केन्द्रको नयाँ अभियान : जेठ २ देखि मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण यात्रा सुरु हुने

 

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित नयाँ चरणको जागरण अभियान सुरु गर्ने निर्णय गरेको छ। आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अभियान कुन ठाउँबाट सुरु गर्ने भन्ने विषयमा अझै ठोस निर्णय नभए पनि विस्तृत कार्यक्रम अर्को बैठकबाट तय गरिनेछ। सापकोटाले भर्खर सम्पन्न भएको हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान अपेक्षाभन्दा बढी सफल भएको निष्कर्ष पार्टीले निकालेको जानकारी दिए।

“बैठकले मध्यपहाडी केन्द्रित अभियान जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको छ,” प्रवक्ता सापकोटाले रातोपाटीसँगको कुराकानीमा भने, “अभियानको पूर्ण रूपरेखा बनिन बाँकी नै छ। आजको बैठकले हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा गर्दै अपेक्षाभन्दा बढी सफल भएको ठहर गरेको छ।”

माओवादी केन्द्रले यसअघि पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकमा हुलाकी मार्ग र मध्यपहाडी लोकमार्गमा चरणबद्ध जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। फागुन १२ गते झापाबाट सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ गते कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो। पार्टीले मध्यपहाडी भेगका जनतालाई केन्द्रमा राखी आयोजना गर्न लागिएको यो नयाँ अभियानमार्फत संगठन सुदृढीकरण, स्थानीय जनताको सरोकारका विषयमा संवाद र राजनीतिक चेतनाको विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्