भारत र पाकिस्तानबीच तनाव चुलिएको छ। भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको हो। यही बेला पाकिस्तानले जमिनदेखि जमिनसम्म प्रहार गर्न सक्ने ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको छ।
अप्रिल २२ मा जम्मू-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा आतंकवादी समूहले गरेको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो। मृतकमध्ये नेपालको बुटवलका सुदीप न्यौपाने पनि छन्। यो हमलालाई लिएर भारतले पाकिस्तानमाथि दोष लगाउँदै सैन्य कारबाहीको धम्की दिएको छ।
पाकिस्तानी सेनाले शनिबार अब्दाली हतियार प्रणालीअन्तर्गतको ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको छ। यो मिसाइलले २८० माइलसम्म प्रहार गर्न सक्ने क्षमता राख्छ। पाकिस्तानी सेनाका अनुसार, यो परीक्षण सेना परिचालनको तयारी र मिसाइलको उन्नत नेभिगेसन प्रणालीको सुनिश्चितताका लागि गरिएको हो।
पाकिस्तानले सामान्यतया यस्ता परीक्षणहरू भारतसँगको सीमा क्षेत्रतर्फ नभई अरब सागर वा दक्षिणपश्चिम बलुचिस्तानको मरुभूमितर्फ गर्ने गर्छ। राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शहबाज शरीफले सफल परीक्षणका लागि संलग्न टोलीलाई बधाई दिएका छन्।
पाकिस्तानको मिसाइल परीक्षणको जवाफमा भारतले पनि आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ। अप्रिल २७ मा भारतीय नौसेनाले लामो दूरीको सटीक प्रहारमार्फत जहाज डुबाउने फायरिङ अभ्यास गरेको थियो। यो अभ्यासलाई पाकिस्तानप्रति शक्ति प्रदर्शनको रूपमा हेरिएको छ।
तनाव बढिरहँदा कश्मीरको विवादित नियन्त्रण रेखा नजिकै दुई देशका सेनाबीच गोली हानाहान भएको छ। पाकिस्तानले भारतको एक जासुसी ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानी सरकारी टेलिभिजनका अनुसार, उक्त मानवरहित ड्रोनले नियन्त्रण रेखा उल्लंघन गरेको थियो।
पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले गत हप्ता युद्धको खतरा रहेको चेतावनी दिएका थिए। चीन, साउदी अरब, र अन्य खाडी राष्ट्रहरूले दुई देशबीच सम्भावित युद्ध रोक्न मध्यस्थताको प्रयास गरिरहेका छन्। संयुक्त राष्ट्रसंघले पनि दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ।
पहलगाम हमला, मिसाइल परीक्षण, सैन्य अभ्यास, र सीमा क्षेत्रमा झडपले भारत र पाकिस्तानबीचको तनाव चरमोत्कर्षमा पुगेको छ। अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्न प्रयास गरिरहे पनि दुवै देशका सैन्य गतिविधिले क्षेत्रीय शान्तिमा खतरा उत्पन्न भएको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)