काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै उनले १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको ‘माइक्रो म्यानेजमेन्ट’ पूर्वराजा शाहले गरेको आरोप लगाए।
“चैत १५ गते तीनकुनेमा उत्पात मच्चाउने घटनाको माइक्रो म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाहलाई तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो,” सुनारले भने, “सरकार अहिलेसम्म के हेरेर बसेको छ ? किन ढिलासुस्ती गरिएको हो ?”
उनले पूर्वराजालाई कानुनी कारबाहीको दायरामा ल्याउन पुनः जोड दिए।
तीनकुनेमा ‘निर्णायक आन्दोलन’ भन्दै राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए, जुन हिंसात्मक बनेको थियो। सो क्रममा दुई जनाको मृत्यु हुनुका साथै निजी सम्पत्ति, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र, सार्वजनिक सवारीसाधन र सञ्चारमाध्यममा समेत तोडफोड तथा आगजनी भएको थियो।
सुनारका अनुसार यस्तो प्रकारको हिंसात्मक गतिविधि स्वतःस्फूर्त नभई संगठित ढंगले गरिएको थियो, जसको पछाडि पूर्वराजाको संलग्नता रहेको उनको दाबी छ। “यस्ता संवेदनशील घटनामा संलग्न व्यक्तिलाई संरक्षण गर्नु कानूनको शासनविपरीत हुन्छ,” भन्दै उनले सरकारलाई स्पष्ट र कडा कदम चाल्न आग्रह गरे।