लगातार वर्षाका कारण कान्ति लोकपथ अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

File Photo

हेटौंडा – लगातारको वर्षाका कारण हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ आइतबार बिहानदेखि अवरूद्ध भएको छ । बागमती खोलामा बनाइएको डाइभर्सन बगाउँदा सडक सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोलामा बनाइएको डाइभर्सन आइतबार बिहान ६:१५ बजे वर्षासँगै आएको बाढीले बगाएको हो । सो डाइभर्सनमार्फत दुवै जिल्लाका सवारीसाधनहरू आवतजावत गर्दै आएका थिए । डाइभर्सन बगेसँगै कान्ति लोकपथमार्ग पूर्ण रूपमा बन्द भएको र सवारी सञ्चालन असम्भव बनेको प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारीले बताएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेर अवरुद्ध सडक खुलाउने प्रयास जारी राखिएको छ ।

प्रहरीले तत्कालका लागि हेटौंडाबाट काठमाडौं जानुपर्ने यात्रु तथा सवारीधनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै वर्षाका कारण अन्य स्थानमा पनि सम्भावित जोखिम रहन सक्ने भएकाले यात्रामा निस्किनुअघि मौसम र मार्गको अवस्थाबारे जानकारी लिन सुझाव दिइएको छ ।

यसअघि पनि वर्षात्का कारण सो क्षेत्रका डाइभर्सनहरूमा अवरोध हुँदै आएको थियो । स्थायी पुल नबन्दा बर्सेनि डाइभर्सन बग्ने समस्या दोहोरिँदै आएको स्थानीयको गुनासो छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्