काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिक दलहरू विचार र सिद्धान्तभन्दा टाढा रहेर राज्य दोहनका साधनमा सीमित भएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले लोकतन्त्रमा राजनीतिक दलहरू अपरिहार्य भए पनि नेपालमा ती दलहरू स्वार्थ समूहका रूपमा परिणत भएको टिप्पणी गरे ।
“लोकतन्त्रमा दलहरू नै विचारका वाहक हुन्छन् । तिनको प्रतिस्पर्धाबाट लोकतान्त्रिक वातावरण बनिन्छ र त्यही जगमा विकास सम्भव हुन्छ,” उनले भने, “तर नेपालका दलहरू विचार, राजनीति, सिद्धान्त र आदर्शभन्दा पनि व्यक्तिगत स्वार्थ र सत्ताको खेलमा सीमित छन् ।”
उनले दलहरू निर्वाचन जित्ने, सत्तामा पुग्ने र त्यसको दोहन गर्ने माध्यम बनेको आरोपसमेत लगाए । “बिना लगानी सम्पत्ति आर्जन गर्ने, सत्ताको माध्यमबाट छिटो लाभ लिने थलो बनेका छन् हाम्रो राजनीतिक दलहरू,” भट्टराईले भने, “यही कारणले दलीय आवद्धता आज हाम्रो लागि ठूलो बाधक बनिरहेको छ ।”
भट्टराईको भनाइमा, दलहरू नैतिकता र आदर्शका वाहक हुनु पर्नेमा उल्टै राज्य शोषण गर्ने माध्यममा परिणत हुनु दुःखद पक्ष हो । उनले राजनीतिक सुधार र दलहरूको आन्तरिक लोकतन्त्र सुदृढ पार्नुपर्ने आवश्यकता पनि औंल्याए ।