ओलीको सांसदहरूलाई निर्देशन : “हाम्रा नीति सही छन्, ढुक्क हुनुहोस्”

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा बनेको सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरू पूर्णरूपमा सही रहेको दाबी गरेका छन् । उनले सांसदहरूलाई ढुक्क भएर ती नीतिको पक्षमा दृढतापूर्वक प्रस्तुत हुन आह्वान गरेका छन् ।

शनिबार बिहान सरकारी निवास बालुवाटारमा आयोजित नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलहरूले विरोधका लागि मात्र विरोध गरिरहेको आरोप लगाए । “माननीय सदस्यहरूका लागि के आग्रह गर्न चाहन्छु भने हाम्रा नीतिहरू सही छन् । ढुक्कले अगाडि बढ्नु भए हुन्छ,” ओलीले भने, “विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ लाग्या छ । कुनै एउटा बुँदाको पनि समर्थन गर्ने छैन ।” ओलीले विपक्षीले उठाउने हरेक विषयमा सत्यता खोज्न अत्यधिक घोत्लिनु नपर्ने पनि बताए । उनले भने, “सही कुराको पनि विरोध गर्न उहाँहरू बाध्य हुनुहुन्छ, जुन उहाँहरूकै लागि भविष्यमा नराम्रो रेकर्डका रूपमा रहनेछ । त्यो रेकर्ड हाम्रो पुस्ताभन्दा धेरै पछिसम्म रहनेछ ।”

प्रधानमन्त्री ओलीले हालै सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा संसदमा सांसदहरूले बलियो र स्पष्ट प्रस्तुति दिनुपर्ने पनि जोड दिए । उनले भने, “माननीयजीहरूले बोल्दा कुनै चिप्लिने खालको कुरा नहोस्, स्ट्रङ र स्पष्ट होस् ।” ओलीको निर्देशनसँगै एमाले सांसदहरूले संसदमा सरकारको नीति तथा कार्यक्रमको दृढ पक्षपोषण गर्ने तयारी थालेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्