काठमाडौँ – सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले ५६ पृष्ठ लामो र १५५ बुँदामा समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरे।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकार परिवर्तन र उपलब्धिप्रति जनतालाई गौरव गराउने दिशामा अग्रसर रहेको बताए। उनले सरकारप्रति जनताको विश्वास मजबुत बनाउने, मुलुकमा सुशासन कायम गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारको प्रतिबद्धता दोहोर्याए।
“नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ छ,” राष्ट्रपति पौडेलले भने।
उनले संविधानको समीक्षा गर्दै आवश्यक संशोधन गरिने पनि स्पष्ट पारे। “संविधानमा रहेका कमजोरीहरू आपसी समझदारीका आधारमा सच्याइनेछ,” उनले बताए।
राष्ट्रपतिले अराजकता फैलाउने विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताउँदै गणतन्त्रविरोधी गतिविधिहरूलाई प्रतिवाद गरिने चेतावनी दिए। उनले राष्ट्रको हित र स्थायित्वका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
सरकारको नीति तथा कार्यक्रममा समावेश भएका योजनाहरूको कार्यान्वयनमा जनअपेक्षा उच्च रहेको छ। अब सरकारको कार्यशैली र प्रतिबद्धताको मूल्यांकन त्यसैको सफलताबाट हुनेछ।