ओडिसास्थित केआईआईटी कलेजमा फेरि एक नेपाली विद्यार्थीको निधन, प्रिशा शाह मृत भेटिइन्

 काठमाडौं — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी फेरि  मृत भेटिएकी छन्। वीरगञ्ज निवासी प्रिशा शाह बिहीबार साँझ होस्टलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरेका छन्। भुवनेश्वर प्रहरीसँगको कुराकानीको आधारमा उनले साँझ करिब ८ बजेतिर शाहको शव झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ। मृतकको परिवार आउँदासम्म पोस्टमार्टम नगर्ने निर्णय गरिएको छ। शव हाल सुरक्षित राखिएको छ। यस घटनाबारे कलेज प्रशासनले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

केआईआईटी कलेजमा यसअघि पनि नेपाली विद्यार्थीको मृत्यु भएको थियो। गत ४ फागुनमा सोही कलेजमा अध्ययनरत २० वर्षीया प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्। त्यसबेला लम्सालले कलेज प्रशासनमा मानसिक दुव्र्यवहार र ब्ल्याकमेलको उजुरी दिएकी थिइन्, तर प्रशासनले गम्भीरता नदिँदा उनले आत्महत्याको बाटो रोजेको आरोप लागेको थियो।

प्रकृतिको मृत्युपछि नेपाली विद्यार्थीहरूले कलेज प्रशासनको विरोधमा प्रदर्शन गरेका थिए। त्यस क्रममा सुरक्षागार्डले विद्यार्थीमाथि कुटपिट गरेका थिए र कलेज प्रशासनले होस्टल छाड्न चेतावनीसमेत दिएको थियो।

प्रिशा शाहको मृत्युपछिको यो घटनाले पुनः नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयमा गम्भीर चिन्ता उत्पन्न गराएको छ। नेपाली दूतावासले यसपटक पहिलाको जस्तो कमजोरी नदोहोर्याउने प्रतिबद्धता जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्