नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदै, बजेट जेठ १५ मा आउने

काठमाडौं — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमार्फत प्रस्तुत हुँदैछ। संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्। यसअघि, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सबै सांसदलाई दिउँसो २:४५ भित्र आसनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन आग्रह गरेका छन्।

सरकारको नीति तथा कार्यक्रम आगामी वर्षको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित ल्याउने तयारी भएको छ। सत्ता साझेदार दलबीच यस विषयमा छलफल भइसकेको छ। नीति तथा कार्यक्रममा विशेषगरी युवामा आशा जगाउने, उद्यमशीलता प्रवर्द्धन, सीप विकास, स्टार्टअप र व्यावसायिक योजना प्रोत्साहन, सरकारको खर्च विस्तार तथा सुशासन सुदृढीकरणमा केन्द्रित हुने जनाइएको छ।

संघीय संसद् सचिवालयले वैशाख २२ देखि २८ गतेसम्म नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिसकेको छ। त्यस्तै, वैशाख ३० गतेदेखि विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रारम्भिक छलफल हुने छ, जसलाई प्रि–बजेट छलफलको रूपमा लिइएको छ।

संविधानको प्रावधानअनुसार, आगामी जेठ १५ गते अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसद्को बैठकमा प्रस्तुत गर्ने छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्