काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउने आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाउने र रोजगार सिर्जनामा केन्द्रित हुनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले श्रमिक अधिकार सुनिश्चित गर्ने सवालमा नेपाली कांग्रेस सधैं अग्रस्थानमा रहेको उल्लेख गरे ।
‘श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ,’ सभापति देउवाले भने, ‘हरेक राजनीतिक आन्दोलन र अधिकार प्राप्तिमा श्रमिकको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ ।’
श्रमिक अधिकार सुनिश्चित गर्न कांग्रेसको अग्रसरता
सभापति देउवाले नेपाली कांग्रेसको नेतृत्वमा श्रमिकहितमा महत्त्वपूर्ण कानुनहरू बनेको उल्लेख गर्दै संविधानमा रोजगारी, श्रमिक अधिकार र सामाजिक सुरक्षाको व्यवस्था सुनिश्चित गरिएको बताए । ‘श्रम ऐन, ट्रेड युनियन ऐनजस्ता कानुन नेपाली कांग्रेसकै नेतृत्वमा बनेका हुन्,’ उनले भने । उनले सामाजिक सुरक्षाले श्रमिकको आत्मसम्मानसँगै भविष्यको सुनिश्चितता गर्ने विश्वास व्यक्त गर्दै स्वदेशमै रोजगारी सिर्जना र सीप अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए ।
‘स्वदेशमै रोजगारी सिर्जना गरी युवाशक्ति स्वदेशमै राख्न सके मात्रै समृद्ध नेपालको सपना साकार हुन्छ,’ देउवाले भने, ‘यसका लागि ज्ञान, सीप, प्रविधि र लगानीमैत्री वातावरण तयार गर्नुपर्छ ।’ कार्यक्रममा श्रमिक संगठनका नेताहरूले पनि श्रमिक हक, सुरक्षा र उचित ज्यालाबारे आफ्ना धारणा राखेका थिए ।