काठमाडौं – दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को ताजा प्रक्षेपणअनुसार यस वर्षको मनसुन अवधिमा नेपालसहित दक्षिण एसियामा सरदरभन्दा बढी वर्षा र तापक्रम हुने सम्भावना देखिएको छ । भारतको पुणेमा अप्रिल २८ देखि ३० सम्म सम्पन्न सास्कोफको ३१औं बैठकमा दक्षिण एसियाका नौ देशका मौसमविद्हरू र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो ।
विश्व मौसम संगठन, भारत मौसम विभागलगायत अन्तर्राष्ट्रिय निकायहरूका विज्ञहरू समेतको सहकार्यमा तयार पारिएको यस प्रक्षेपणले नेपालको लागि पनि महत्त्वपूर्ण सन्देश दिएको छ । नेपालको जल तथा मौसम विज्ञान विभागले सास्कोफको प्रक्षेपणलाई आधार मानेर चाँडै पत्रकार सम्मेलनमार्फत राष्ट्रिय स्तरमा मनसुन पूर्वानुमान सार्वजनिक गर्ने तयारी गरेको विभागका महानिर्देशक कमलराज जोशीले जानकारी दिएका छन् । उनका अनुसार सास्कोफको प्रक्षेपण नेपालमा पनि मिल्ने देखिएको छ ।
पूर्व–मध्य र सुदूरपश्चिम क्षेत्रमा बढी वर्षाको अनुमान
सास्कोफले सार्वजनिक गरेको नक्साका आधारमा नेपालको पूर्वी भागमा औसत वर्षा, मध्य भागमा औसतभन्दा केही बढी, र सुदूरपश्चिम क्षेत्रमा औसतभन्दा धेरै वर्षा हुने अनुमान गरिएको छ । नेपालमा सामान्यतया जुन १३ तारिखदेखि मनसुन सुरु भई अक्टोबर २ तारिखसम्म सक्रिय रहने गर्दछ । यही अवधिमा कुल वार्षिक वर्षाको ७०–८० प्रतिशत वर्षा हुने गर्दछ ।
सास्कोफको प्रतिवेदनअनुसार यस वर्ष मनसुन अवधिमा वर्षासँगै न्यूनतम तथा अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने अनुमान गरिएको छ । यसले गर्दा बाढी, पहिरो, डुबान, कटानजस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
पूर्वतयारी आवश्यक
विपद् व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार तीव्र वर्षाका कारण विशेषगरी पहाडी तथा हिमाली जिल्लामा पहिरो जाने, सडक अवरुद्ध हुने र जनधनको क्षति हुने सम्भावना उच्च हुन्छ । तराई–मधेश क्षेत्रमा भने नदीमा बहाव बढेर डुबान र कटानको अवस्था सिर्जना हुनसक्छ ।
‘सिंचाइका लागि यो वर्षाको फाइदा उठाउन सकिएला, तर प्रकोपको जोखिमबाट बच्न पूर्वतयारी अनिवार्य छ,’ उनले भने ।
विज्ञहरूले वर्षा र तापक्रमको असमान वितरणले पानीका स्रोत, कृषियोग्य जमिन, बाली चक्र र मानव स्वास्थ्यमा असर पार्ने भएकाले बाढी पूर्वानुमान प्रणाली, विपद् व्यवस्थापन योजना, बाली विविधीकरण, र मौसमअनुकूल बीउ तथा प्रविधिको प्रयोगमार्फत स्थानीय तयारी आवश्यक भएको सल्लाह दिएका छन् ।