अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालसहित विश्वभर मनाइँदै, देशभर सार्वजनिक बिदा

 

काठमाडौं – अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे दिवस’ आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपाल सरकारले दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरु गरिएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ। सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केटमा बम विस्फोट भएपछि आन्दोलनले उग्र रूप लिएको थियो। विस्फोट कसले गरायो भन्ने खुलेको थिएन तर त्यसपछि प्रहरीले आन्दोलनमा संलग्न मजदुरहरूमाथि कडा दमन गर्‍यो। प्रहरीको गोली लागेर सात जना मजदुरको ज्यान गएको थियो।

यस ऐतिहासिक आन्दोलनको सम्झनामा सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रमिक संगठनहरूको बैठकले हरेक वर्ष मे १ मा श्रमिक दिवस मनाउने निर्णय गरेको थियो। त्यसयता, सन् १८९० देखि विश्वभर श्रमिक दिवस मनाउने परम्परा कायम गरिएको हो।

नेपालमा पनि यो दिवसलाई विशेष महत्वका साथ मनाइन्छ। मजदुर संगठनहरू आफ्ना हक र अधिकारको सुनिश्चितताका लागि सरकार तथा रोजगारदातालाई दबाब दिने उद्देश्यले ¥याली, सभा तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्दछन्। नेपालमा पहिलोपटक २००७ सालमा विराटनगरमा मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो भने वि.सं. २०४६ सालको प्रजातान्त्रिक परिवर्तनपछि सरकारले यस दिनलाई सार्वजनिक बिदाका रूपमा घोषणा गरेको हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्