काठमाडौं – हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रभावका कारण बिहीबार बिहान देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था देखिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भएको छ। गोरखाको आरूघाटमा पछिल्लो एक घन्टामा १९ मिलिमिटर वर्षा मापन गरिएको छ। काठमाडौं उपत्यकामा पनि बिहीबार बिहान छिटपुट वर्षा भएको छ।
महाशाखाका अनुसार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। साथै, पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य क्षेत्रका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।
बिहीबार राति पनि पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रहरूमा राति पनि हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसममा आएको यस्ता परिवर्तनले यात्रुहरू, कृषकहरू तथा दैनिक कार्यमा संलग्न जनतालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।