बालुवाटारमा बसिरहेको सत्तारूढ बैठक बहिष्कारपछि केही बेरमै पक्राउ परेका थिए रेशम चौधरी !

काठमाडौं — सत्तारूढ गठबन्धनभित्रको समन्वय संकट चुलिँदै गएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सत्तारूढ दलहरूको बैठक नागरिक उन्मुक्ती पार्टी, जनमत पार्टी र जसपा नेपालले बहिष्कार गरेलगत्तै नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

सादा पोशाकमा पुगेका प्रहरीले चौधरीलाई जनमत र नागरिक उन्मुक्तीबीचको पार्टी एकता घोषणा कार्यक्रम स्थलबाटै नियन्त्रणमा लिएका हुन्। चौधरीका भाइ मीठूलाल चौधरीले प्रहरीको कदम पुष्टि गर्दै रेशमलाई डिल्लीबजार कारागार लगिएको जानकारी दिएका छन्। तर, कुन कारणले चौधरीलाई पक्राउ गरियो भन्नेबारेमा प्रहरीले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

सत्तारूढ बैठक बहिष्कारको पृष्ठभूमिमा आएको यो पक्राउले थप शंका उब्जाएको छ। बैठकमा सहभागी हुँदै आएकी रेशम चौधरीकी पत्नी तथा नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ यसपटक भने अनुपस्थित रहिन्। त्यस्तै, बैठकमा नियमित रूपमा देखिँदै आएका जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टी अध्यक्ष डा. सिके राउत पनि उपस्थित थिएनन्। बहिष्कारको दिनमै जनमत र नागरिक उन्मुक्तीबीच पार्टी एकता घोषणा कार्यक्रम तय गरिएको थियो।

राजनीतिक वृत्तमा यस घटनाले सरकार र सत्तारूढ घटकहरूबीच अविश्वास र तनाव झनै बढेको टिप्पणी भइरहेको छ। चौधरीको गिरफ्तारीलाई लिएर नागरिक उन्मुक्ती पार्टीले सरकारसँग जवाफ माग्ने तयारी गरिरहेको स्रोतले बताएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्