रेशम चौधरी किन पक्राउ परे ? यस्तो रहेछ कारण !

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी बुधबार काठमाडौँस्थित एक कार्यक्रममा सहभागी हुन आएका बेला प्रहरीले पक्राउ गरेका छन्। जनमत पार्टीसँगको पार्टी एकता कार्यक्रम सुरु हुनुअघि नै उनलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगिएको हो।

चौधरी उक्त पार्टी एकता कार्यक्रममा सहभागी हुन नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका थिए। कार्यक्रम स्थलमै उनी पक्राउ परेपछि राजनीतिक वृत्तमा चहलपहल भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपिल बोहराका अनुसार, चौधरीलाई पुरानो मुद्दामा सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको हो। पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो र फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको  उनले बताए।

यसअघि गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद मिनाहा गरेका थिए। तर, टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सो रिटमा सर्वोच्च अदालतले कैद मिनाहा असंवैधानिक भएको ठहर गर्दै चौधरीलाई पुनः थुनामा राख्न आदेश दिएको थियो।

पार्टी एकता कार्यक्रमको छायामा भएको यो गिरफ्तारीले नेपालको समसामयिक राजनीति र न्यायिक प्रक्रियामा पुनः बहसको विषय बनेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्