इस्लामाबाद/नयाँ दिल्ली – पाकिस्तानले भारतले आगामी २४ देखि ३६ घन्टाभित्र सैन्य आक्रमण गर्नसक्ने दाबी गरेको छ। जम्मू-कश्मीरको पहलगाममा वैशाख ९ गते भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको भारतको आरोपपछि दुई देशबीच तनाव चर्किएको छ।
पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत जारी गरेको भिडिओ सन्देशमा भने, “आधारहीन र मनगढन्ते आरोपको बहानामा भारतले पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको विश्वसनीय गुप्तचर जानकारी प्राप्त भएको छ।” यद्यपि, उनले यो दाबीलाई पुष्टि गर्ने कुनै आधार सार्वजनिक गरेका छैनन्। तरारले कुनै पनि सैन्य कारबाही भए त्यसको कडा जवाफ दिने र त्यसको सम्पूर्ण जिम्मेवारी भारतको हुने चेतावनी दिए।
जम्मू-कश्मीर हमलाको पृष्ठभूमि
वैशाख ९ गते जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो। उक्त हमलाको जिम्मेवारी ‘द रेसिस्टेन्ट फ्रन्ट’ (टिआरएफ) नामक आतंकवादी समूहले लिएको छ। भारतले टिआरएफलाई पाकिस्तानी गुप्तचर र सेनाको समर्थन रहेको दाबी गर्दै आएको छ। तर, पाकिस्तानले आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले घटनाको निष्पक्ष छानबिनका लागि तयार रहेको बताएका छन्।
द्विपक्षीय सम्बन्धमा तीव्र संकट
हमलापछि भारतले पाकिस्तानसँगको शिन्धु जलसम्झौता निलम्बन गरेको छ। यो सम्झौता अन्तर्गत सिन्धु नदीसहित अन्य पाँच नदीबाट पाकिस्तानमा पुग्ने पानी तत्कालका लागि कटौती गर्ने निर्णय भारतले गरेको छ। यद्यपि, विश्लेषकहरूले यो सम्भव नभएको बताएका छन्।
त्यस्तै, भारतले पाकिस्तानी कूटनीतिज्ञहरूलाई फिर्ता पठाएको छ र भारतमा रहेका पाकिस्तानी नागरिकलाई मे १ भित्र देश छाड्न आदेश दिएको छ। सार्क राष्ट्रको विशेष भिसा पनि रद्द गरेको छ।
जवाफमा, पाकिस्तानले सिमला सम्झौता, सबै द्वीपक्षीय सम्झौता र भारतसँगको व्यापार तत्कालका लागि रोक्ने निर्णय गरेको छ। साथै, पाकिस्तानी आकाशमा भारतीय जहाजमाथि प्रतिबन्ध लगाएको छ।
नियन्त्रण रेखामा तनाव
जम्मू-कश्मीरको नियन्त्रण रेखा (एलओसी) मा भारतीय र पाकिस्तानी सेनाबीच गोलाबारी भइरहेको छ। दुवै पक्षबीच तनाव चरम अवस्थामा पुगेको छ।
पाकिस्तानको पत्रकार सम्मेलन
मन्त्री तरारले भारतको सम्भावित आक्रमणबारे विस्तृत जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुई आणविक शक्ति सम्पन्न छिमेकी देशहरूबीचको यो तनावले क्षेत्रीय स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै देशलाई संयम अपनाउन आग्रह गरेको छ।