काठमाडौं — २८ दिनदेखि आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता मंगलबार अबेर राति निष्कर्षविहीन रूपमा टुंगिएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमतिविना अन्त्य भएपछि शिक्षक आन्दोलन थप जटिल बन्ने देखिएको छ।
शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गर्दै ती माग मन्त्रिपरिषद्बाट पारित गरिएमा आन्दोलनको स्वरूप परिवर्तन गर्ने जनाएको छ। महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार, “हामी सहमतिको नजिक छौं। भोलि बिहान महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय हुनेछ। वार्ता भोलि टुंगो लाग्ने अपेक्षा छ।”
महासंघको आन्दोलनका बीच पनि कक्षा १२ को परीक्षा भने तोकिएकै समयमा हुने थापाले स्पष्ट पारे। लामो समयदेखि सार्वजनिक शिक्षा प्रभावित भइरहेकाले सरकारले केही तदारुकता देखाए पनि शिक्षक पक्षको अडानका कारण सहमति बन्न सकेको छैन।
यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ७ बुँदे प्रस्तावमा सरकारलाई अनुमानित ८ अर्ब रुपैयाँ खर्च लाग्ने आँकलन गरिएको थियो। हाल शिक्षक महासंघले थप मागसहित निम्न ९ बुँदे प्रस्ताव सरकार समक्ष राखेको छ:
- विद्यालय कर्मचारी र ईसीडी (प्रारम्भिक बाल विकास) शिक्षकहरूको तलब सुनिश्चितता
- सामाजिक सुरक्षा कोषमा समावेश
- दुर्गम भत्ता व्यवस्था
- ग्रेड समायोजन प्रक्रिया
- शिक्षकको मर्यादा क्रमको स्पष्टता
- अस्पतालमा शिक्षक उपचारमा छुटको व्यवस्था
- निम्न माध्यमिक प्रथम र माध्यमिक द्वितीय श्रेणीबीच तलबमा समानता
- राहत शिक्षकको समुचित व्यवस्थापन
- अन्य प्रशासनिक सहजीकरणसम्बन्धी मागहरू