श्रीनगर/इस्लामाबाद – भारत र पाकिस्तानबीचको तनाव पछिल्लो समय चरमोत्कर्षमा पुगेको छ। जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ। यसैबीच, पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतसँग युद्धको खतरा रहेको चेतावनी दिएका छन्।
गत मंगलबार पहलगामको पर्यटकीय क्षेत्रमा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान गएको थियो, जसमा नेपालको बुटवलका सुदीप न्यौपाने पनि परेका थिए। यो हमलाले भारत र पाकिस्तानबीचको तनावलाई नयाँ उचाइमा पुर्याएको छ। हमलाको जिम्मेवारी कुनै समूहले नलिएको भए पनि भारतले पाकिस्तानलाई यसको लागि जिम्मेवार ठहराएको छ।
पाकिस्तानी रक्षामन्त्री आसिफले जियो न्यूजसँग कुरा गर्दै भने, “यदि केही भयो भने दुई वा तीन दिनमा हुनेछ। तत्काल खतरा छ।” यद्यपि, उनले युद्धको सम्भावनालाई टार्न सकिने पनि बताए। तर, उनको यो भनाइले क्षेत्रीय स्थिरतामाथि थप प्रश्नचिह्न खडा गरेको छ।
यसैबीच, पाकिस्तानले कश्मीरको नियन्त्रण रेखा (एलओसी) नजिक भारतको एक जासुसी ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानको सरकारी टेलिभिजन च्यानलले रक्षा अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार उक्त ड्रोनले नियन्त्रण रेखा उल्लंघन गरेको कारण खसालिएको जनाएको छ। भारतले भने यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। विगतमा पनि दुवै देशले सीमा क्षेत्रमा एकअर्काका साना निगरानी ड्रोन खसालेका घटनाहरू भएका छन्, तर यो घटना दुई आणविक शक्ति सम्पन्न राष्ट्रहरूबीचको तनावपूर्ण सम्बन्धको सन्दर्भमा विशेष रूपमा संवेदनशील मानिएको छ।
सीमा क्षेत्रमा तनाव बढिरहँदा बिहीबार राति नियन्त्रण रेखामा दुवै पक्षबीच गोली हानाहान भएको थियो। भारतीय सेनाले पाकिस्तानी सेनाको “बिना उकसावे” गोलीबारीको जवाफ दिएको बताएको छ। यद्यपि, यो गोलीबारीमा कुनै हताहत भएको खबर छैन।
अन्तर्राष्ट्रिय समुदायले यो तनावलाई लिएर चिन्ता व्यक्त गरेको छ। चीन, साउदी अरब र अन्य खाडी राष्ट्रहरूले दुवै देशलाई संयम अपनाउन र युद्ध रोक्न मध्यस्थताको प्रयास गरिरहेका छन्। संयुक्त राष्ट्रसंघले पनि भारत र पाकिस्तानलाई संयम अपनाउन आग्रह गरेको छ।
पहलगाम हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। भारतले सिंधु जल संधि निलंबन गर्ने, व्यापार रोक्ने र पाकिस्तानी उच्चायोगमा राजनयिकहरूको संख्या घटाउने जस्ता निर्णयहरू गरेको छ। जवाफमा, पाकिस्तानले पनि भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको, वाघा सीमा बन्द गरेको र शिमला सम्झौता निलंबन गर्ने घोषणा गरेको छ।
यो तनावले दक्षिण एसियाली क्षेत्रमा ठूलो संकट निम्त्याउन सक्ने चिन्ता बढिरहेको छ। दुवै देशका सैन्य गतिविधिहरू बढिरहेका छन्, र आणविक शक्ति सम्पन्न यी दुई राष्ट्रहरूबीचको सम्भावित टकरावलाई रोक्न अन्तर्राष्ट्रिय समुदायको भूमिका महत्त्वपूर्ण हुनेछ।
विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा तयार पारिएको