सरकारको आगामी नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक हुने

काठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम यही वैशाख १९ गते सार्वजनिक गर्ने भएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मंगलबारको बैठकमा उक्त जानकारी गराएका हुन्।

संविधानअनुसार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रावधान छ। सोहीअनुसार वैशाख १९ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नेछ, जसमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्नेछन्।

सभामुख घिमिरेले संयुक्त सदनको बैठकमा सहभागी हुँदा सबै सांसदहरू राष्ट्रिय पोशाकमा उपस्थित हुनुपर्ने लगायतका प्रोटोकलहरू पालन गर्नुपर्ने जानकारी पनि दिए। संसद सचिवालयले आवश्यक तयारीहरू अघि बढाइसकेको छ।

सरकारको नीति तथा कार्यक्रममार्फत आर्थिक, सामाजिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा आगामी वर्षका प्राथमिकता र योजनाहरू सार्वजनिक गरिनेछ। नीति तथा कार्यक्रम पछि बजेट प्रस्तुतिको प्रक्रिया अघि बढ्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्