सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पहिलो विदेश भ्रमणमा भारत प्रस्थान

 

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारतको एक साताको भ्रमणका लागि मंगलबार दिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको औपचारिक निमन्त्रणामा मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल भारत गएको हो।

मुख्यमन्त्री शाहको यो पहिलो विदेशी भ्रमण हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले भारत भ्रमणका क्रममा लगानी सम्मेलन, ऊर्जा, पर्यटन, कृषि लगायतका विषयमा उच्चस्तरीय छलफल हुने जानकारी दिए।

भ्रमण दलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, माओवादी केन्द्रका प्रदेशसभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, मुख्य सचिव कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुरतकुमार बम, राजनीतिक सल्लाहकार जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट सहभागी छन्।

टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका शहरहरूको भ्रमण गर्नेछ। भ्रमणका क्रममा भारत सरकारका संघीय मन्त्रीहरूसँग पनि भेटघाटको कार्यक्रम तय भएको छ। टोली लखनउबाट स्थलमार्ग हुँदै नेपाल फर्किनेछ।

मुख्यमन्त्री शाहको अनुपस्थितिमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला मन्त्री बहादुरसिंह थापालाई दिइएको छ। शाहले भारत प्रस्थान गर्नु अघि थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्