काठमाडौं – काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको तोडफोड र आगजनी घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, उनीहरूलाई आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरी रिहा गरिएको हो।
यसअघि पनि सोही कसुरमा पक्राउ परेका २१ जनालाई प्रहरीले हाजिर जमानीमा छाडिसकेको थियो। पछिल्ला १२ जनासहित हाजिर जमानीमा रिहा भएकाहरूको संख्या अब ३३ पुगेको छ।
यद्यपि, राज्यविरूद्धको कसुरमा पक्राउ परेकाहरू भने अझै प्रहरी हिरासतमा छन्। राप्रपाका सांसद धवलशम्शेर राणा समेत राज्यविरूद्धको कसुरमा अनुसन्धानको दायरामा परेका थिए। स्वास्थ्य उपचारको आवश्यकता देखिएपछि उनलाई हाजिर जमानीमा छाडिएको थियो। हाल उनी भारतमा उपचार गरेर नेपाल फर्किसकेका छन्।
त्यस्तै, रविन्द्र मिश्र, दुर्गा प्रसाईं, उनका अंगरक्षक दीपक खड्कालगायत २५ जनामाथि पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।