काठमाडौं – राज्यको अर्बौं रुपैयाँ लगानीमा बनेको पोखरा विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन आज संसद्को सार्वजनिक लेखा समितिमा बुझाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एवम् उपसमिति संयोजक राजेन्द्र लिङदेनले प्रतिवेदन लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई हस्तान्तरण गरेका हुन्।
गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा र भैरहवा विमानस्थलको अध्ययन, अनुगमन तथा छानबिन गर्न दुई छुट्टाछुट्टै उपसमिति गठन गरेको थियो। पोखरा विमानस्थलको अध्ययन उपसमितिको संयोजक लिङदेन थिए। उपसमितिमा सांसदहरू कृष्णबहादुर दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य रहेका छन्।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन उपसमितिको नेतृत्व एमाले सचिव तथा सांसद योगेश भट्टराईले गरेका छन्। सो उपसमितिमा सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन्।
सांसदहरूका अनुसार राज्यले दातृ निकायसँग ऋण लिएर राष्ट्रिय गौरव आयोजना बनाएका यी विमानस्थलहरूले अपेक्षाअनुसार प्रतिफल दिन नसकेको हुँदा अध्ययन अनुगमन गरिएको हो।
२४ अर्ब रुपैयाँको लागतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन गरिएको थियो। त्यसैगरी, भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ३० अर्ब रुपैयाँ लगानीमा निर्माण भई २०७९ जेठमा उद्घाटन गरिएको हो।