शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदै

काठमाडौं – प्रतिनिधि सभाले आज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक पारित गर्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीमा विधेयक पारित गर्ने प्रस्ताव समावेश गरिएको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। छलफलका क्रममा सांसदहरूले विधेयकसम्बन्धी आफ्ना धारणा राख्नेछन् भने त्यसपछि मन्त्री पन्तले उठेका जिज्ञासाहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

छलफल तथा जवाफपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्न प्रस्ताव पेश गरिनेछ। उक्त विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेको हो। २१ असोज २०८० मा राष्ट्रिय सभामा दर्ता भएको विधेयक २९ माघ २०८० मा पारित भई प्रतिनिधि सभामा पठाइएको थियो। आज प्रतिनिधि सभाले समेत विधेयक पारित गरेपछि पुनः राष्ट्रिय सभामा प्रमाणीकरणका लागि पठाइनेछ।

राष्ट्रिय सभा अध्यक्षको हस्ताक्षरपछि विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुग्नेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्