काठमाडौँ – आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एक रोचक घटना देखिएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि छलफल सुरु भएको थियो। तर धारणा राख्न उभिएका एमाले सांसद सराज अहमद फारुकीले विधेयकको नाममा गल्ती गरे।
कपिलवस्तुबाट समानुपातिक प्रणालीबाट निर्वाचित फारुकीलाई सभामुख देवराज घिमिरेले धारणा राख्न बोलाएका थिए। रोस्टममा पुगेका फारुकीले धारणा राख्न सुरु गर्दा भने भन्नुपर्ने विधेयकको सट्टा अर्को विधेयकको नाम उच्चारण गरे। उनले “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” को सट्टा “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१” भनिदिए।
फारुकीको गल्ती देखेपछि सभामुख घिमिरेले तुरुन्तै सचेत गराउँदै भने, “बोलिरहनुभएको मान्य सदस्य, तपाईंको विधेयकको शीर्षक मिलेन हेर्नुस् त। वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक भनेको सुनेँ मैले।” सभामुखले अहिले ‘बैंकिङ कसुरसम्बन्धी विधेयक’माथि छलफल भइरहेको सम्झाएपछि फारुकीले आफनो टिपोट जाँच गर्दै गल्ती स्वीकारे। उनले ‘सरी’ भन्दै आफ्नो धारणा सच्याएर अगाडि बढे।
बैठक सामान्य प्रक्रियामा फर्किएपछि फारुकीले संशोधन प्रस्तावमाथि आफ्नो धारणा राखे।