काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षी दलहरूलाई शिक्षकहरूलाई अनावश्यक रूपमा उत्तेजित गरेको आरोप लगाएका छन्। आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले शिक्षकहरूको आन्दोलनलाई गलत दिशातर्फ मोड्ने प्रयास भइरहेको बताएका हुन्।
बर्तौलाले प्रचण्ड नेतृत्वको अघिल्लो सरकारको समयमा शिक्षकहरूसँग भएका सहमति कार्यान्वयन नहुँदा अहिलेको जटिल अवस्था सिर्जना भएको जिकिर गरे। उनले शिक्षकहरूको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता वर्तमान सरकारले लिएको बताउँदै शिक्षकहरूलाई चाँडै विद्यालय फर्किन पनि आग्रह गरे।
आइतबार बानेश्वरमा भएको शिक्षक र सुरक्षाकर्मीबीचको झडपप्रति दुःख व्यक्त गर्दै बर्तौलाले यस्ता घटनाहरू दोहोरिन नदिनका लागि शिक्षकहरू स्वयं पनि गम्भीर हुनुपर्नेमा जोड दिए। साथै, उनले संसद् र सांसदहरूलाई अनावश्यक दबाब दिने शैली उचित नभएको भन्दै कानुन निर्माण प्रक्रियामा जबरजस्ती जितको मनोबल बनाउने प्रयास त्याग्न शिक्षकहरूलाई सुझावसमेत दिए।