काठमाडौं – केही दिनदेखि देशभर अत्यधिक गर्मी महसुस भइरहेकामा सोमबारदेखि तापक्रम घट्ने प्रक्षेपण गरिएको छ। मौसमविद्हरूका अनुसार आज अपराह्नदेखि नै केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा सुरु हुने सम्भावना छ, जसले गर्दा तापक्रममा गिरावट आउनेछ र गर्मी केही कम महसुस हुनेछ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि देशका विभिन्न भागमा मेघ गर्जन र वर्षा सुरु हुने अनुमान छ। उनले भने, ‘भोलि अपराह्नमा काठमाडौंलगायत देशको पूर्वी भागमा राम्रो वर्षा हुने सम्भावना छ । साथै तापक्रममा उल्लेखनीय कमी आउने हुँदा गर्मी घट्नेछ।’
पछिल्ला केही दिनयता लुम्बिनी प्रदेशसहित तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। जसका कारण तातो हावाको चेतावनीसमेत जारी गरिएको थियो। अन्य प्रदेशका तराई जिल्लाहरूमा समेत तापक्रम ३८ डिग्रीभन्दा माथि मापन गरिएको थियो।
डा. पोखरेलका अनुसार अब लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना रहेकाले क्रमशः गर्मी कम हुँदै जानेछ।