काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा सहमति भएको छ।
गत असार ३० गते प्रधानमन्त्री बनेयता ओलीले सरकार परिवर्तन नहुने दाबी गर्दै आए पनि पछिल्लो समय विभिन्न शीर्ष नेताहरूका अभिव्यक्तिले राजनीतिक स्थायित्वप्रति आशंका उत्पन्न गरेको थियो। यही सन्दर्भमा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच दुई घण्टा लामो भेटवार्ता भएको हो।
छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। बैठकपछि उपप्रधानमन्त्री पौडेलले दुवै नेताबीच सत्ता सहकार्यलाई अझ मजबुत बनाउने सहमति भएको र सरकार परिवर्तनको हल्ला गलत र निराधार भएको बताए।
‘प्रधानमन्त्री ओली र सभापति देउवाबीच सरकारलाई थप प्रभावकारी बनाउन गम्भीर छलफल भयो। सरकार फेरबदलको विषयमा फैलिएका हल्लामा कुनै सत्यता छैन,’ पौडेलले भने।
यसअघि पनि सभापति देउवा उपचारका लागि थाइल्यान्डको बैंककमा रहँदा प्रधानमन्त्री ओलीसँग टेलिफोन संवाद भएको थियो। त्यस अवसरमा पनि सरकार परिवर्तनको हल्लाबारे छलफल भएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी थिइन्। सभापति देउवा शुक्रबार मात्रै उपचारपछि स्वदेश फर्किएका हुन्।