स्वर्णलक्ष्मी सहकारी प्रकरण : कांग्रेसकी सांसद माया राई पक्राउ

काठमाडौं – स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन प्रकरणमा फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राईलाई काठमाडौंको कपन क्षेत्रबाट पक्राउ गरेको एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन्।

भोजपुर क्षेत्रबाट समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा पुगेकी राई २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म स्वर्णलक्ष्मी सहकारीमा सहसचिवका रूपमा कार्यरत थिइन्। सोही अवधिमा सहकारीमा भएको वित्तीय अपचलनको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।

यसअघि सरकारी वकिलको कार्यालय, काठमाडौंले सहकारी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागसहित मुद्दा दायर गरेको थियो। सो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्यलाई प्रतिवादी बनाइए पनि माया राईलाई समावेश गरिएको थिएन। राईलाई उन्मुक्ति दिएको भन्दै प्रहरी र सरकारी वकिल कार्यालयको आलोचना समेत भएको थियो।

यसबारे चौतर्फी चासो बढेपछि सरकारी वकिल कार्यालयले माया राईमाथि पनि अनुसन्धान गर्न निर्देशन दिएको थियो। सोही निर्देशनपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। लामो समयपछि प्रहरीले पुर्जी कार्यान्वयन गर्दै राईलाई नियन्त्रणमा लिएको हो। हाल उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्