काठमाडौं — ‘हाम्रो शिक्षा र युवा आकर्षणका उपाय’ विषयक बहस कार्यक्रम शनिबार काठमाडौंको तिनकुनेस्थित न्यू समिट कलेजमा सम्पन्न भएको छ। कार्यक्रम नेकपा (एमाले) कोशी प्रदेश सम्पर्क कमिटी, शिक्षा विभागको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा नेकपा (एमाले) का मधेश प्रदेश इन्चार्ज नरेन्द्र श्रेष्ठ, लुम्बिनी प्रदेश इन्चार्ज इन्द्र भण्डारी, विद्यार्थी नेता आरसी लामिछाने लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य शिक्षा विभाग सदस्य प्रेमकुमार भुजेलले राखेका थिए। उनले सहभागी सबै अतिथिहरूलाई स्वागत गर्दै यस्ता बहस कार्यक्रमहरूले शिक्षा क्षेत्रको समग्र सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. पद्म खतिवडाले “जनसंख्या र शिक्षा सम्बन्ध” विषयमा प्रस्तुति दिएका थिए। उनले जनसंख्यामा भइरहेको परिवर्तनले शिक्षामा पार्ने प्रभाव, विद्यार्थीहरूको विदेश पलायन तथा नेपालमा रहेका विश्वविद्यालयहरूको अवस्था लगायत विषयमा तथ्यांकसहित जानकारी प्रस्तुत गरे।
उनको प्रस्तुति पछि विभिन्न सहभागीहरूले आफ्नो धारणा राखेका थिए। नेपाल ल क्याम्पसका स्ववियु सभापति समिर रिजाल, नेपाल कमर्स क्याम्पसका स्ववियु सभापति र अस्कल क्याम्पसका स्ववियु सभापतिले आ–आफ्नो टिप्पणी प्रस्तुत गर्दै उच्च शिक्षामा बजेट विनियोजन बढाउनुपर्ने, शिक्षा र राजनीतिबीचको सम्बन्ध सन्तुलित राख्नुपर्ने, तथा शिक्षालाई युवामैत्री बनाउनुपर्ने धारणा व्यक्त गरे।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. योगेन्द्र गुरुङ र प्रा. डा. प्रेमसागर चापागाइले डा. खतिवडाको प्रस्तुतीमा टिप्पणी गरेका थिए । उनीहरुले देशका सबै प्रदेशस्तरीय कमिटीहरूले यस्ता बहस तथा सुझावमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनीहरूका अनुसार शैक्षिक सुधारका लागि जमीनी स्तरबाट सुझाव संकलन गरी नेतृत्व तहमा पुर्याउनु आवश्यक छ।
यस्ता बहस कार्यक्रमहरूले पार्टी र देशको शैक्षिक नीति निर्माणमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे।