काठमाडौं, वैशाख १२
प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैका राजनीतिक घटनाक्रमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा परेको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष दाहालले सांसदहरूलाई समसामयिक विषयमा जानकारी गराउने क्रममा राष्ट्र बैंकको गभर्नर नियुक्ति विवाद, शिक्षकहरूको आन्दोलन र नेपाली कांग्रेसभित्रको असन्तुष्टिलाई सरकारका लागि चुनौतीपूर्ण परिस्थितिको रूपमा व्याख्या गरेका हुन्।
दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि गएको थाइल्याण्डबाट आजै फर्किएको जानकारी पनि दिए। उनले देउवासँग थाइल्याण्ड जानुअघि टेलिफोनमा कुराकानी भएको र अब फर्किएपछि थप छलफल हुने बताएका छन्।
अध्यक्ष दाहालले संसद तथा सडकमा देखा परेका असन्तोषका स्वरलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउँदै प्रतिपक्षी दलको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएका छन्।