शुक्लाफाँटामा २ करोड ६६ लाखमा आधुनिक कभर्डहल निर्माण सम्पन्न, मेयरले गरे उद्घाटन

महेन्द्रनगर, शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिकामा आधुनिक सुविधासम्पन्न नगरस्तरीय कभर्डहल निर्माण सम्पन्न भएको छ। कुल २ करोड ६६ लाख ४९ हजार ५ सय ५४ रुपैयाँको लगानीमा निर्माण गरिएको कभर्डहलको उद्घाटन शुक्रबार नगर प्रमुख रणबहादुर महराले गरेका हुन्।

उद्घाटन समारोहमा नगर प्रमुख महराले कभर्डहलले शुक्लाफाँटाको खेलकुद क्षेत्रमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गरे। “निर्वाचनका बेला खेलाडीहरूले कभर्डहलको आवश्यकता औंल्याएका थिए, आज त्यो सपना साकार भएको छ,” उनले उद्घाटन समारोहमा भने, “सबैको सहयोगले सम्भव भएको यो निर्माण अब खेलाडीहरूको जिम्मामा रहनेछ।”

नगर उपप्रमुख कल्पना पन्तका अनुसार, वडागत बजेट कटौती गरेर नगरस्तरमा एउटै सुविधा सम्पन्न कभर्डहल निर्माण गरिएको हो। उनले सबै वडा अध्यक्षहरूको सक्रिय सहयोगले मात्र यो सम्भव भएको बताइन्।

शुक्लाफाँटा नगरपालिकाका निवर्तमान नगरप्रमुख दिलबहादुर ऐरले कभर्डहलको संरक्षणमा सबैको योगदान आवश्यक रहेको बताए। “हाम्रो कार्यकालमा वडा नं. १ बन्शाहमा एक कभर्डहल निर्माण गरेका थियौं,” उनले भने, “अब शुक्लाफाँटामा दुईवटा कभर्डहल भएका छन्, जसले खेलाडीहरूको अभ्यास सहज बनाउनेछ।”

शुक्लाफाँटा नगर खेलकुद विकास समितिका अध्यक्ष चक्रबहादुर साउदले कभर्डहलले छोटो समयमै खेलाडीहरूमा उत्साह बढाएको बताए। उनले विकास निर्माणमा आग्रह–पूर्वाग्रह नराखी सहकार्य गर्नुपर्नेमा जोड दिए।

नवनिर्मित कभर्डहलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, १५० जना क्षमताको प्यारापिट, १२ वटा शौचालय, बाथरुम, पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै कपडा परिवर्तन कक्षलगायतका संरचना समावेश छन्।

नगर प्रमुख महराको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, खेलाडी, पत्रकार र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्