आईपीएल २०२५: बेंगलुरुको रोमाञ्चक जित, राजस्थानको प्लेअफ यात्रा संकटमा

काठमाडौं – रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा आफ्नो छैटौं जित दर्ता गरेको छ । बिहीबार भएको खेलमा बेंगलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराउँदै अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

पहिले ब्याटिङ गर्दै बेंगलुरुले २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन बनायो । कप्तान विराट कोहलीले ७० रनको उत्कृष्ट पारी खेले भने देवदत्त पडिक्कलले अर्धशतक (५० रन) पुरा गरे । फिलिप साल्टले २३ तथा टिम डेभिडले अविजित २३ रन बनाएर टिमलाई बलियो योगफलमा पुर्याए ।

राजस्थानका बलरमध्ये सन्दीप शर्माले २ विकेट लिए भने वानिन्दु हसरंगा र जोफ्रा आर्चरले १-१ विकेट लिए ।

२०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थानले सुरुवात त तेजिलो गर्‍यो, तर अन्तिम फेजमा खराब फिनिसिङका कारण जित हात पार्न सकेन । यशश्वी जैसवालले ४९ तथा ध्रुव जुरेलले ४७ रन बनाए । नितिश रानाले पनि २८ रनको योगदान दिए ।

पावरप्लेमा ७२ रन र १० ओभरमा ११३-३ को अवस्था हुँदासमेत राजस्थानले लय कायम राख्न सकेन । अन्तिम तीन ओभरमा ४० रन आवश्यक रहँदा १८औं ओभरमा २२ रन आएपनि १९औं ओभरमा जोश हेजलवूडको घातक बलिङले खेल बेंगलुरुको पोल्टामा ल्यायो । उनले १ रनमात्र दिँदै २ विकेट लिँदा राजस्थानको जितको आशामा पूर्णविराम लागेको थियो ।

बेंगलुरुका लागि हेजलवूडले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । क्रुनाल पान्ड्याले २ विकेट लिए भने भुवनेश्वर कुमार र यश दयालले १-१ विकेट लिए ।

यस जितसँगै बेंगलुरुले ९ खेलमा १२ अंक जोड्दै प्लेअफको सम्भावना बलियो बनाएको छ भने राजस्थान ९ खेलमा ४ अंकसहित आठौं स्थानमा सीमित रहँदै प्लेअफ यात्रा कठिन बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्