सम्पादकीय
१० वर्षपछि हामी कहाँ छौं?
२०७२ साल बैशाख १२ गते एउटा यस्तो दिन, जसले केवल धर्ती होइन, नेपाली जनजीवनको आत्मा नै हल्लाइदियो। ११:५६ बजे, जुन समय देशका अधिकांश मानिसहरू आफ्ना दैनिकीमा व्यस्त थिए, पृथ्वी एकाएक हल्लियो। केही सेकेन्डभित्रै सम्पूर्ण देश त्राहिमाम भयो। हाँसिरहेका अनुहारहरू चिच्याउने अनुहारमा परिणत भए, घरहरू थुम्को झैँ भत्किए, र बाँच्ने आशा हरायो। भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक थियो, तर यसको प्रभावले ३२ भन्दा बढी जिल्लामा गहिरो चोट पुर्यायो। ७.८ म्याग्नेच्यूडको भूकम्प ५५ सेकेन्ड मात्र चलेको थियो, तर त्यसले छाडेको पीडा दशकौं सम्म पनि विस्तार भइरहेको छ।
फुर्सदको बिहान, स्कुल अफिस बिदा, धेरैजना आँगनमा बसेका थिए, कसैले चिया पिइरहेका, कोहि पारिवारिक रमझममा थिए । तर त्यो शान्त घडीलाई एकाएक पृथ्वीको कम्पनले च्यातिदियो, र फुर्सदको त्यो शनिवार नेपाली इतिहासकै कालो दिन बन्यो। भूकम्प आएको त्यो शनिवार, स्कुल र अफिस बिदा भएकाले धेरैजसो मानिस घरमै थिए; सोच्नुस्, यदि त्यो दिन स्कुल खुलेको भए—कति नानीहरू कक्षा कोठामै च्यापिन्थे, क्षति अझै भयावह हुने थियो।
दोलखा, सिन्धुपाल्चोक, ललितपुर, काठमाडौँ, भक्तपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, र काभ्रे जस्ता जिल्लामा सबभन्दा धेरै क्षति भयो।
विशेषगरी वैशाख २९ गते दोलखा केन्द्रबिन्दु भएर गएको दोस्रो भूकम्पले जिल्लामा झन् भयावह अवस्था ल्याएको थियो।
भूकम्पले केवल भौतिक संरचना मात्र भत्काएको थिएन, नेपालको सांस्कृतिक आत्मामा चोट पुर्याएको थियो। धरहरा, गद्दी बैठक, पाटन दरबार, भक्तपुरका मन्दिरहरू यी सबै गहिरो क्षतिमा परे। यी केवल पुराना संरचना होइनन्, हामी नेपालीको इतिहास, संस्कृति र पहिचानका प्रतीक हुन्। तर आज धरहरा फेरि उठेको छ। त्यो केवल एउटा टावर होइन—एक सन्देश हो: “हामी भत्किए पनि फेरि उठ्न सक्छौं।”
भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (NRA) गठन गरियो। देशभर लाखौं घरहरू पुनर्निर्माण भए, ७३,४२५ लाभग्राही मध्ये ६५,२२२ ले अनुदानको तेस्रो किस्ता पाएर घर बनाइसकेका छन्। तर दोलखा, रसुवा, सिन्धुपाल्चोक जस्ता क्षेत्रमा सरकारी अनुदानमा बनेका धेरै घरहरू खाली छन्। धेरै पीडितहरू काठमाडौं वा विदेश पलायन भएका छन्। घरहरूमा ताला छ, आँगन झारले भरिएका छन्, कौसी र पिँढी भत्किन थालेका छन्। गाउँ, जसले कहिल्यै हाँसो र हलचल गुमाएको थिएन—आज बिरानो र शून्य देखिन्छ।
विपद्पछि गाउँगाउँमा कङ्क्रिटका घरहरू त बने, तर मानिसहरू भने शहरतिर तानिए। वैदेशिक रोजगारी, शिक्षा र सुविधाको खोजीमा घरधुरी खाली हुँदै गए। यसरी, घर मात्र होइन, संस्कृति, परम्परा र सामुदायिक भावना पनि हराउँदै छन्। १० वर्ष बितिसक्दा पनि घाउहरू अझै पुरिएका छैनन्। तर हामीले बाँचेका सपनाहरूलाई जोगाएका छौं, संघर्ष गरेका छौं, फेरि उठेका छौं।
२०७२ को भूकम्पले भत्काएको घरभन्दा ठूला कुरा बनाएको छ—हाम्रो एकता, सहनशीलता, र आशा। १० वर्षपछि पनि हामी भन्छौं: “हामी थकित छैनौं, हामी अझै निर्माणमै छौं।”