बालेनलाई उपप्रमुख डंगोलको स्पष्ट सन्देश : “स्टन्ट होइन, काम गर्ने युवा बनौं”

काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै आफ्नो पार्टी नेकपा एमालेप्रतिको विश्वास व्यक्त गर्दै सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने पार्टी भएको बताएकी छन्।

भृकुटिमण्डपमा आयोजित उक्त कार्यक्रममा उपप्रमुख डंगोलले भनिन्, “एमालेले कसैको घर जलाउन सिकाउँदैन, लुटपाट गर्न युवालाई प्रयोग गर्दैन। दश नङ्ग्रा खियाएर राष्ट्रका लागि काम गर्न प्रेरित गर्छ, त्यसैले मलाई एमाले मन पर्छ।” उनले युवाहरूलाई सामाजिक सञ्जालमा अनावश्यक रूपमा आक्रोश प्रदर्शन गर्ने प्रवृत्तिबाट टाढा रहन आग्रह गर्दै सकारात्मक कार्यमार्फत परिवर्तन ल्याउनुपर्ने धारणा राखिन्।

डंगोलले देश निर्माणका लागि ‘स्टन्ट’ भन्दा पनि व्यावहारिक काम र समर्पण आवश्यक भएको स्पष्ट पारिन्। “अहिले धेरैले स्टन्ट गरेर पपुलर बन्न खोज्छन्, तर त्यसरी देश बन्दैन,” उनले भनिन्, “देश बनाउने हो भने स्टन्ट होइन, काम गर्ने युवा बनौं।”

उपप्रमुख डंगोलले हाल आफू र पार्टीको नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेको महसुस भइरहेको उल्लेख गर्दै, जति आक्रमण भए पनि राष्ट्र निर्माणको अभियानबाट आफूहरू विचलित नहुने बताइन्। उनले आफ्नो पदप्रति बफादार रहेर सधैं कर्तव्यनिष्ठ भएर काम गरिरहेको दाबी गरिन्।

उनको सम्बोधनले वर्तमान राजनीतिमा देखिएको युवाको भूमिकाप्रतिको दृष्टिकोण मात्र होइन, समर्पण, निष्ठा र सकारात्मक परिवर्तनमा आधारित राजनीति आवश्यक रहेको सन्देश पनि दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्