काठमाडौँ — नेपाली कांग्रेसका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्र दिवसको अवसर पारेर बिहीबार काठमाडौँको महाराजगन्जस्थित आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रमले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व होडलाई नयाँ तरंग दिएको छ। अनौपचारिक भनिएको कार्यक्रममा नेताहरूको बाक्लो उपस्थिति र उनीहरूको समुहगत संरचनाले विशेष संकेतहरू दिएको छ।
कार्यक्रममा प्रमुखतया संस्थापन पक्षका नेता कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वलाई साथ दिने नेताहरूको सहभागिता, विशेषगरी पूर्व उपसभापतिहरू विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदार तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको उपस्थिति, संस्थापन पक्षको स्पष्ट समर्थनको सङ्केत मानिएको छ।
त्यस्तै, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य एनपी साउद, अम्बिका बस्नेत, पुष्पा भुसाल, सुजाता परियार, कृष्ण केसी लगायतका नेताहरूको सहभागिताले चियापान कार्यक्रमलाई संस्थापन पक्षको ‘पावर शो’ बनाएको छ।
हालका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र डा. शशांकका निकट नेताहरू दीपक गिरी र उर्मिला थपलियाको उपस्थिति पनि उल्लेखनीय थियो। थपलियाले कार्यक्रम विशुद्ध रूपमा लोकतन्त्र दिवसको अवसरमा गरिएको चियापान मात्र भएको दाबी गरे पनि कार्यक्रमको स्वरूप र उपस्थितिले त्यसलाई मात्र सीमित नराख्ने प्रष्ट भएको छ।
डा. शेखर कोइराला र सुजाता कोइराला भने कार्यक्रममा अनुपस्थित रहे। शेखर पक्षका केही नेता सञ्जय गौतम, दीलेन्द्रप्रसाद बडू, डा. सुनिल शर्माको उपस्थिति कार्यक्रमको सन्तुलन बनाउने प्रयासजस्तै देखिए पनि मुख्य नेताहरूको अनुपस्थितिले आन्तरिक मनोविज्ञान झल्काएको विश्लेषण भइरहेको छ। कार्यक्रममा सहभागी केही नेताहरूले १५औँ महाधिवेशनको सन्दर्भमा शशांक कोइरालाले आफ्नो सभापति दाबीलाई संस्थागत रूपमा प्रस्तुत गर्न खोजेको आशंका व्यक्त गरे। एक नेताका अनुसार, “शशांक दाइले सबै मसँग छन् भन्ने देखाएर सभापतिमा दाबीको बलियो सन्देश दिन खोज्नुभएको हो।”
हालसम्म सभापतिमा दाबी गरिरहेका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र डा. शेखर कोइरालालाई भने कार्यक्रमका लागि आमन्त्रण गरिएको थिएन, जसले डा. शशांकले पार्टी नेतृत्वको दौडमा आफ्नो स्थान प्रष्ट पार्ने रणनीतिक चेष्टा गरेको संकेत दिएको छ।
पार्टीभित्रको शक्ति परीक्षण र सन्देश प्रवाहका दृष्टिले हेर्दा डा. शशांक कोइरालाको यो चियापान कार्यक्रम, केवल चियासँग सीमित नभई कांग्रेस नेतृत्वको अर्को अध्यायतर्फ संकेत गरिरहेको देखिन्छ।