‘वेइटिङ प्रधानमन्त्री’ देउवा! प्रचण्डको संकेतले नयाँ गठबन्धनको संकेत

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्ड प्रस्थानअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर संवाद गरेका छन्। वैशाख ७ गते उपचारका लागि थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका देउवाको यो फोन वार्तालाई वर्तमान सत्ता समीकरणसँग जोडेर चर्चा सुरु भएको छ।

सिंहदरबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले देउवाको फोन संवादबारे जानकारी गराउँदै शुभकामना आदान–प्रदानसँगै फर्किएपछि भेटवार्ताको सहमति भएको बताएका छन्।

“थाइल्यान्ड जानुअघि उहाँले मलाई फोन गर्नुभएको थियो। सो क्रममा शुभकामना आदान–प्रदान भयो, फर्किएपछि भेट हुने कुरा पनि भयो,” बैठकमा प्रचण्डले भनेको स्रोतले जानकारी दिएको छ।

बैठकमा सहभागी एक माओवादी सांसदका अनुसार, देउवाको फोन संवादसँगै प्रचण्डले वर्तमान सत्ता समीकरणबारे समेत ब्रिफिङ गरेका थिए। उनले अबको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धेरै समय नटिक्ने धारणा समेत प्रस्तुत गरेका थिए।

“प्रचण्डले नयाँ राजनीतिक समीकरण निर्माणको संकेत गर्दै, देउवा फर्किएपछि थप छलफल हुने बताए। साथै, ‘वेइटिङ प्रधानमन्त्री’ शेरबहादुर देउवा नै हुने संकेत पनि गर्नुभयो,” ती सांसदले भने।

यो घटनाक्रमले नेपाली राजनीतिक वृत्तमा पुनः सत्ता फेरबदलको बहसलाई तातो बनाएको छ। देउवाको थाइल्यान्ड बसाइपछि हुने सम्भावित राजनीतिक भेटवार्ताले आगामी सत्ता समीकरणको दिशालाई प्रभावित गर्न सक्ने देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्