सरकारको आयु लामो नहुने निष्कर्षमा माओवादी केन्द्र, नयाँ समीकरणको संकेत

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको वर्तमान सरकार दीर्घकालीन नहुने निष्कर्ष निकालेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारको कार्यशैली, जनअसन्तुष्टि र आन्तरिक असहमतिको पृष्ठभूमिमा सरकार धेरै टिक्न नसक्ने ठहर गरेको हो।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धनको सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्। एक सांसदका अनुसार प्रचण्डले वर्तमान सरकारको कामकारबाहीप्रति जनस्तरमा व्यापक असन्तुष्टि रहेको भन्दै सरकारको आयु छोटो हुने संकेत गरेका थिए।

यद्यपि सरकार ढलिहालेपछि माओवादी केन्द्रको भूमिका के हुने भन्नेबारे भने प्रचण्डले स्पष्ट धारणा नदिएको ती सांसदले बताएका छन्। उनका अनुसार प्रचण्डले “जनताले हामीलाई सरकारमा नजानू भनेका छन्, तर परिस्थिति गम्भीर भएको खण्डमा पुनः सोच्नुपर्ने हुन सक्छ” भन्ने आशय प्रकट गरेका थिए।

सरकारको सम्भावित विघटनपछि बाहिरै बसेर समर्थन गर्ने कि सरकारमै सहभागी हुने भन्ने विषयमा पार्टीभित्र गहिरो छलफल आवश्यक रहेको प्रचण्डको भनाइ रहेको छ। बाहिरबाट समर्थन गर्दा सहयात्री दल असहमत हुन सक्ने र सरकारमा सहभागी हुँदा जनतासँगको प्रतिबद्धता प्रभावित हुन सक्ने द्विविधा पार्टी नेतृत्वमा देखिएको छ।

बैठकमा प्रचण्डले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्किएपछि नयाँ सरकार गठनबारे छलफल गर्ने संकेत समेत गरेका छन्। “वेइटिङ प्रधानमन्त्री देउवा थाइल्यान्डमा हुनुहुन्छ, उहाँ फर्किएपछि संवाद हुनेछ,” प्रचण्डको भनाइ सांसदले उद्धृत गरेका छन्।

माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई ‘अप्राकृतिक’ र ‘असंवैधानिक’ गठबन्धनको उपज भन्दै निरन्तर आलोचना गर्दै आएको छ। अध्यक्ष प्रचण्डले अघिल्ला केही सार्वजनिक मञ्चहरूमा पनि सरकार छिट्टै ढल्ने दाबी गरेका थिए। हाल सरकारभित्रै पनि एमाले र कांग्रेसबीच आन्तरिक असहमति बढ्दो छ। प्रधानमन्त्री ओलीप्रति चीन र भारतको विश्वास कमजोर भएको, जनस्तरमा असन्तुष्टि बढेको, र सरकारको नीति तथा कार्यक्रमप्रति असहमति गहिरिँदै गएको माओवादीको आन्तरिक विश्लेषण छ।

ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउने माओवादीको रणनीति देखिए पनि देउवाले गठबन्धन परिवर्तनमा हालसम्म चासो नदेखाएकाले तत्काल परिवर्तन सम्भावना अन्योलमा देखिएको छ। देउवा हाल स्वास्थ्य उपचारका लागि थाइल्यान्डमा रहेका छन्। उनी फर्किएपछि नेपाली राजनीतिको शक्ति सन्तुलनमा नयाँ मोड आउने संकेत देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्