लुम्बिनीसहित तराईका विभिन्न भू–भागमा अत्याधिक गर्मी, तातो लहरको सम्भावना

 

काठमाडौँ – देशको विभिन्न तराई भू–भागहरूमा अत्यधिक गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही स्थानहरूमा पछिल्ला केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।

बुधबार साँझ जारी गरिएको बुलेटिनअनुसार मधेस प्रदेशसँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको छ।

मौसम विश्लेषणका आधारमा आगामी दुई दिनसम्म यी प्रदेशका तराई भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाले जनाएको छ। विशेष गरी लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा (हिट वेभ) चल्ने सम्भावना शुक्रबारसम्म रहने चेतावनी दिइएको छ।

तातो हावा र गर्मीको असरस्वरूप थकान, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, मांसपेशी दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिन सक्ने महाशाखाको चेतावनी छ।

यस्ता लक्षणबाट जोगिन महाशाखाले निम्न सावधानी अपनाउन आग्रह गरेको छ:

  • अत्यधिक गर्मीको समयमा चिसो स्थान वा घरभित्रै बस्न,
  • बाहिर ननिस्कनु परेमा हल्का, सुती कपडा लगाउन र टाउको छोप्न,
  • नियमित रूपमा पानी, जुस, सर्वतजस्ता झोल पदार्थ प्रशस्त मात्रामा पिउन,
  • स्वास्थ्यमा कुनै समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिन।

महाशाखाले यस्तो गर्मीका समयमा विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्