इस्लामाबाद/नयाँ दिल्ली — जम्मू कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच कूटनीतिक र सुरक्षासम्बन्धी तनाव चुलिएको छ। हमलामा २६ जनाको ज्यान गएपछि भारतले कडा प्रतिक्रिया दिँदै विभिन्न कदमहरू चालेको छ। त्यसको जवाफस्वरूप पाकिस्तानले पनि राष्ट्रिय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको छ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बिहीबार बिहान राष्ट्रिय सुरक्षा समितिको बैठक आह्वान गरेका छन्। पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जाल ‘एक्स’मा जानकारी दिँदै, “भारतको औपचारिक विज्ञप्तिको जवाफमा प्रधानमन्त्रीले आज बिहान बैठक बोलाउनु भएको हो,” भनेका छन्।
यसअघि बुधबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा नयाँ दिल्लीमा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (CCS) को बैठक बसेको थियो। बैठकमा गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायत शीर्ष अधिकारीहरू सहभागी थिए।
भारतको कडा निर्णयहरू:
भारत सरकारले हमलाको प्रतिक्रिया स्वरूप विभिन्न कडा कदमहरू चालेको छ:
- सिन्धु जल सन्धि निलम्बन: भारतले पाकिस्तानसँगको १९६० को सिन्धु जल सन्धि तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ।
- सीमा नाका बन्द: अटारी एकीकृत जाँच चौकी (ICP) मे १, २०२५ देखि बन्द गरिनेछ। हाल वैध कागजातका आधारमा भारतमा रहेका पाकिस्तानीहरू मात्र यो मार्ग प्रयोग गरी फर्कन पाउनेछन्।
- एसभीईएस भिसा रद्द: सार्क भिसा छुट योजना अन्तर्गत पाकिस्तानी नागरिकहरूलाई जारी गरिएका भिसाहरू खारेज गरिएको छ, र उनीहरूलाई ४८ घण्टा भित्र भारत छोड्न भनिएको छ।
- कूटनीतिक कदमहरू: भारतले इस्लामाबादस्थित आफ्ना रक्षा, नौसेना, वायुसेना सल्लाहकारहरूलाई फिर्ता बोलाएको छ। यस्तै, नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका यस्तै सल्लाहकारहरूलाई अवाञ्छनीय व्यक्ति घोषित गर्दै एक हप्ताभित्र देश छोड्न निर्देशन दिएको छ।
सुरक्षा सतर्कता र अनुसन्धान:
CCS बैठकमा भारतको सुरक्षा अवस्थाको समग्र समीक्षा गर्दै सुरक्षा बलहरूलाई उच्च सतर्क रहन भनिएको छ। पहलगाम हमलामा संलग्न आतंककारी समूहहरूको पहिचान र कारबाहीका लागि अनुसन्धान तीव्र पारिएको बताइएको छ।
भारत र पाकिस्तानबीचको पछिल्लो तनावले दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप असर पार्ने संकेत देखिएको छ। यसबीच, क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायले संयम र संवादको मार्ग अपनाउन आह्वान गरेका छन्।