शुक्लाफाँटा नगरपालिकाको १९औं नगर सभा सम्पन्न, नयाँ नीति तथा कार्यक्रम सार्वजनिक

झलारी, बैशाख १० – शुक्लाफाँटा नगरपालिकाको १९ औं नगर सभा सोमबार सम्पन्न भएको छ। नगर प्रमुख रणबहादुर महराले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, “उन्नत कृषि, गुणस्तरीय शिक्षा, स्वस्थ नगर, दिगो विकासका पूर्वाधार ः व्यवस्थित, आत्मनिर्भर र समृद्ध शुक्लाफाँटाको आधार” भन्ने मूल नारासहितको कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

प्रस्तुत कार्यक्रममा स्वास्थ्य, शिक्षा, खेलकुद तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। नगर प्रमुख महराले नगर गौरवका आयोजना, फोहोरमैला व्यवस्थापन केन्द्र, शिक्षा क्षेत्रमा सुधार र राजस्व वृद्धि लगायतका कार्यहरूलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गर्नुभयो। साथै, एशियाली विकास बैंकको सहयोगमा सञ्चालित सडक निर्माण कार्य पनि तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो।

नगर सभामा आफ्ना विचार राख्दै वडा नं. ५ का सदस्य जयराज पाण्डेले सरकारी तथा जनप्रतिनिधिहरूका सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने नीति ल्याउनुपर्ने माग गर्नुभयो। उहाँले सार्वजनिक जग्गाको संरक्षण गरेर युवालाई रोजगारी दिने योजना ल्याउन आग्रह गर्नुभयो।

कार्यपालिका सदस्य सन्तोला कामीले दलित समुदायको हितका कार्यक्रम समेटिनुपर्नेमा जोड दिनुभयो भने लालसिंह महराले गत वर्षका कार्यक्रमको प्रभावकारी मूल्याङ्कन नभएको गुनासो गर्नुभयो। साथै, नगर कर्मचारीको प्रोत्साहन भत्ता र सुविधा विषयमा पनि छलफल हुनुपर्ने बताउनुभयो।

वडा नं. ३ का अध्यक्ष नरेन्द्र चौधरीले मातृभाषामा आधारित शिक्षा कार्यक्रम, बडघर तथा भल्मन्सा कार्यक्रमलाई नीति कार्यक्रममा समावेश गर्न सुझाव दिनुभयो। वडा नं. ८ का अध्यक्ष बहादुर सिंह महराले निजी विद्यालयको नियमन र शिक्षामा भैरहेको व्यापारीकरण हटाउनुपर्ने धारणा राख्नुभयो।

नगर उपप्रमुख कल्पना पन्तले राजस्व संकलनमा विशेषज्ञ परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबैको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

सभाको समापनमा नगर प्रमुख महराले छलफलमा उठेका सुझाव तथा प्रस्तावलाई समावेश गर्दै नीति तथा कार्यक्रम पास गरिएको जानकारी दिनुभयो। उहाँले आगामी वर्षलाई तथ्याङ्क वर्षको रूपमा मनाइने र नगरसँग सम्बन्धित सम्पूर्ण तथ्याङ्क संकलन तथा भण्डारण गरिने जानकारी गराउनुभयो।

शुक्लाफाँटा नगरपालिकाको यो नीति तथा कार्यक्रमले समावेशी, दिगो र समृद्ध नगर निर्माणमा नयाँ मार्गचित्र प्रस्तुत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्