काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे सरकारले कुनै आधिकारिक जानकारी प्राप्त नगरेको स्पष्ट पारेका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले राजीनामाबारे आफूलाई समेत कुनै जानकारी नभएको बताए।
“शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने कुरा सरकारको आधिकारिक जानकारीमा छैन,” उनले भने, “यदि प्रधानमन्त्रीको कार्यालयमा राजीनामा परेको भए सरकारका प्रवक्तालाई जानकारी हुन्थ्यो, मन्त्रिपरिषद्मा छलफल हुन्थ्यो। अहिलेसम्म यस्तो केही भएको छैन।”
गुरुङका अनुसार मन्त्री भट्टराई विगत एक महिनादेखि बिरामी रहेकाले उनी मन्त्रालयमा सक्रिय रूपमा कार्यरत नहुन सक्ने संकेत दिएका छन्। “उहाँ स्वास्थ्य समस्याका कारण मन्त्रालय आउन सक्नु भएको छैन भन्ने जानकारी छ, त्यसैले राजीनामाको हल्ला फैलिएको हुन सक्छ,” उनले थपे।
यसबारे शिक्षामन्त्री भट्टराई वा प्रधानमन्त्रीको कार्यालयबाट आधिकारिक धारणा आउन बाँकी नै छ।