काठमाडौं – भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा भएको मिनी ट्रक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परी मृत्यु हुने तीनैजनाको सनाखत भइसकेको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ ।
मृत्यु हुनेहरू बझाङको बुङ्गल नगरपालिका–२ दहबगरका अर्जुन धामी, उज्वल जाग्री र जगत धामी रहेको प्रहरीले जनाएको छ । तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो । धनगढीबाट खाद्यान्न र खुद्रा सामग्री बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनाको खबर पाउनेबित्तिकै प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको थियो । दुर्घटना स्थल बुडरबाट करिब ११ किलोमिटर उत्तरमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।